Friday, August 9, 2013

मानव बेचबिखन एक जगन्य अपराध

सुनीता दनुवार, अध्यक्ष, शक्ति समूह

लामो समयदेखि मानव बेचबिखनविरू द्ध क्रियाशील संस्था शक्ति समूहले अन्तर्राष्ट्रिय रामोन म्यागसेसे पुरस्कार प्राप्त गरेको छ। शक्ति समूहकी अध्यक्ष सुनीता दनुवार नेपाली चेली पटकपटक बेचिन र मारिनबाट बचाउन शक्ति समूहलाई उक्त पुरस्कारले थप शक्ति दिएको बताउँछिन्। अशिक्षा,,गरिबी,जनचेतनाको अभावले गर्दा नेपाली चेलीहरू विभिन्न बाहनामा बेचिरहेका छन्। जबसम्म छोरीलाई अनिवार्य शिक्षा लागू हुँदैन तबसम्म नेपाली चेलीहरूले सुख पाउँदैनन् भन्ने विचार राख्ने अध्यक्ष सुनीता दनुवारसँग अन्नपूर्णकर्मी मीना सिंहले गरेको पाँच प्रश्न :
अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभयो, कस्तो महशुस भइरहेको छ?
संघर्षको फल मीठो हुन्छ भनेझैं १७ वर्षको लामो संघर्षपछि शक्ति समूहले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। ठूलो राशीसहितको पुरस्कार पाउँदा खुसी लाग्नु त स्वभाविकै हो। यसले हामीलाई चेलीबेटी बेचबिखन विरूद्ध काम गर्न थप जिम्मेवारी दिएको छ। मानिसको जन्म र मृत्यु एक पटक मात्रै हुन्छ। तर पटक पटक मरिरहेका नेपाली चेलीलाई पुर्नस्थापना गरी समाजमा सजिलैसँग बाँच्न सक्ने बनाएकै कारण शक्तिले उक्त पुरस्कार पाएको हो। चेलीबेटी बेचबिखन हुनबाट जोगाउन पनि शक्तिले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। अहिले शक्तिले पाएको पुरस्कारले हामीलाई केही मात्रामा खुसी बनाउन सके पनि यसबाट हामी पूर्ण खुसी हुने अवस्था भने छैन। त्यसैले जबसम्म चेलीबेटी बेचबिखनको अन्त्य हुँदैन तबसम्म हाम्रो प्रयास निरन्तर रहनेछ।
पुरस्कारबाट प्राप्त रकमले के गर्ने सोच बनाउनुभएको छ?
ठूलो योजना केही बनाएका छैनौं। भएकालाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसैले उक्त राशी पुर्नस्थापना केन्द्रमा रहेका चेलीबेटीहरूलाई विभिन्न किसिमका आयआर्जनमूलक तालिम दिने योजना बनाएका छौं। जसले गर्दा चेलीबेटीहरूलाई समाजमा सजिलैसँग बाँच्न सजिलो होस्। अहिलेसम्म शक्तिको शाखा ११ वटा जिल्लामा मात्र सीमित छ। अब शाखा विस्तार अभियानलाई विस्तारै देशका ७५ वटै जिल्लामा पु:याउनेछौं। अर्को कुरा शक्ति समूहको राष्ट्रियस्तरको नेटवर्क बनाएर विश्व भरी विस्तार गर्ने योजनासम्बन्धी हामी छलफल गरिरहेका छौं। पुरस्कारको राशीलाई चेलीबेटीहरूको क्षमता अभिवृद्धिका क्षेत्रमा बढी केन्द्रित गर्नेछौं।
हाल नेपालमा चेलीबेटी बेचबिखनको अवस्था कस्तो छ?
चेलीबेटी बेचबिखनको स्वरूप फेरिएको छ। पहिले दिल्ली, कलकत्ताजस्ता ठाउँमा मात्र चेलीबेटी बेचबिखन हुन्छन् भन्ने मानसिकता थियो। तर पछिल्लो समयमा नेपालकै विभिन्न ठाउँमा चेलीबेटीहरू विभिन्न वाहनामा बेचिइरहेका छन्। वैदेशिक रोजगारका नाममा पनि महिला बेचिइरहेका छन्। दलालको गिरोहले गाउँघरका सोझा चेलीहरूको पासपोर्ट बनाइदिने,बाहिर जाँदा लाग्ने खर्चसमेत आफै व्यहोरी खाडी मुलुकमा पठाइ दिनेे गरेका छन्। जसले गर्दा नेपाली चेलीहरू विदेशमा पनि यौनहिंसाको शिकार हुने गरेका छन्। जबसम्म चेलीबेटी बेचबिखनमा आवद्ध गिरोहलाई कानुनी दायरमा ल्याउन सकिदैन तबसम्म नेपाली चेलीहरू कुनै न कुनै बाहनामा बेचिने,यौनहिंसाको शिकार हुनेमात्र नभइ अकालमै ज्यान गुमाउन बाध्य हुनेछन्।
शक्ति समूहले चेलीबेटी बेचबिखन अन्त्यका लागि के कस्ता काम गरिहेको छ?
शक्ति समूहको उद्देश्य भनेकै चेलीबेटी बेचिनबाट जोगाउने र बेचिएका चेलीहरूलाई पुर्नस्थापना गरी समाजमा सजिलैसँग बाँच्नसक्ने बनाउनु हो। त्यसैले शक्तिले नेपाली चेलीहरू बेचिनबाट जोगाउन उपत्यकामा मात्र नभएर जिल्लामा १३देखि १९ वर्षसमूहका केटाकेटीहरूको समूह गठन गरी तिनीहरूलाई मानव बेचबिखन हुनबाट जोगाउने सम्बन्धी तालिम दिने र तालिम पछि तिनीहरूले अर्को समूहलाई सडक नाटक, बालअधिकारसम्बन्धी विभिन्न कार्यक्रमगरी सचेतना फैलाउने काम गर्छन्। शक्तिले जिल्लामा विभिन्न संघसंस्थासँग मिलेर परामशको काम पनि गरिहेको छ।
अबको योजना?
मानव बेचबिखन एक जगन्य अपराध हो। यसको जरादेखि नै निर्मुल गर्नु आवश्यक छ। त्यसका लागि शक्ति समूह कटिवद्ध भएर लाग्नेछ। सबै मानव बेचबिखनमा आवद्ध संघसंस्थासँग हातेमालो गर्दै शक्तिले आफ्नो शक्ति प्रशर्दन गर्नेछ। त्यसका लागि सबै संघसंस्थाको सहयोग शक्तिलाई अपरिहार्य हुनेछ। अर्को कुरा चेलीबेटी बेचबिखनबाट बचाउन सरकारी पक्षबाट पनि गतिलो बजार अनुगमन हुनु जरूरी छ ।
Published on auguat 8,2013, -Sangee.

No comments:

Post a Comment