• मीना सिंह
मैतीदेवीस्थित एक कस्मेटिक पसलमा लगभग १८ वर्षीया युवती भेटिइन्। उनले दुवै हातका नाडीभरि दुई सय रुपैयाँ मूल्य पर्ने हरियो र पहेँलो रङ मिश्रित चुरा लगाइन्। चुरा हल्लाउँदै उनले निर्धक्कसँग भनिन्, ‘साहुनी म त हिन्दी सिरियलकी अप्सराजस्तै देखिएँ है।’ सोमबार व्रतका दिन मन्दिर जान एक जोडा हरियो रङको कुर्ता सुरुवाल, हरियै रङको एक जोडा दामी साडी किन्ने उनको योजना छ।
साउने व्रत सुरु भइसकेको छ। हातका नाडीभरि हरिया, राता, पहेँला चुरा लगाएका टिनएजरदेखि पाका महिलाको संख्या बाक्लो देखिन्छ। त्यसैले साउन महिनायता बजारमा हरियो सामग्रीको बिक्री पनि निकै बढेको छ। साउन महिना धार्मिक दृष्टिले उत्तम मानिन्छ। भगवान् शिवको साधनाका लागि पनि साउन महिना विशेष मानिन्छ। यो भगवान् शिवको अत्यन्त प्रिय महिना हो। शिव उपासनाका लागि सोमबारको विशेष महत्त्व रहेकोमा साउन महिनाको सोमबारको झनै महत्त्व रहेको छ। वेद, पुराण तथा अन्य शास्त्रहरूमा यसको महिमा उल्लेख भएको पाइन्छ। धार्मिक किंवन्दतीअनुसार पार्वतीले शिव पाऊँ भनी साउन महिनाभरि निराहार व्रत बसेपछि शिव भगवान् प्राप्त गरेकी हुन्। उक्त घटनाबाट प्रभावित भएर विवाहित महिला श्रीमान्को दीर्घ आयुका लागि र अविवाहित महिला सुयोग्य वर पाऊँ भनी सोमबारको व्रत बस्दै आएका हुन्।
पछिल्लो समयमा साउने संस्कृतिका नाममा विकृति पनि देखा पर्न थालेका छन्। महँगा गरगहना र पहिरन लगाउने, व्रतका नाममा उपहार साटासाट गर्नेजस्ता विकृति फैलिँदै गएका छन्। साउने संस्कृतिकै कुरा गरौं, पार्वतीले महँगो साडी लगाएको, महँगा चुरापोते लगाएर व्रत बसेको कुनै पनि धार्मिक ग्रन्थमा उल्लेख छैन। तैपनि साउन महिना सुरु हुनासाथ पाइला चाल्न सिक्दै गरेका बालिकादेखि वृद्धाहरूको हातसमेत मेहन्दी र हरिया, पहेँला तथा राता चुराले भरिभराउ देखिन्छ।
यतिमात्र हैन, चाडबाडका नाममा तडकभडक बढ्दो छ। यसले गर्दा निम्न आर्थिक स्तर भएका महिलाले हीनताबोध गरेको पाइन्छ। संस्कृतिका नाममा पश्चिमी शैलीको प्रभाव भित्र्याउनेमा महिला नै अग्रपंक्तिमा देखिएका हुन् कि जस्तो भान हुन्छ। यतिमात्र नभएर समाजमा देखिने तडकभडकले महिला हिंसा जन्माउने गर्छ। यो राम्रो होइन। महिला सृष्टिकर्ता हुन्। पालनकर्ता हुन्। यसको अर्थ महिलाले सन्तान जन्माउने र तिनको मात्र पालपोषण गर्नुपर्छ भन्ने होइन। संस्कृतिको जगेर्ना पनि महिलाले नै गर्नुपर्छ। त्यसैले संस्कृतिको महत्त्व नबुझी नाडीभरि रंगीविरंगी चुरा, महँगा गरगहना लगाएर कुनै सिरियलकी कलाकारजस्ती देखिएँ भन्नुचाहिँ उपयुक्त नहोला कि?
साउने सोमवार व्रतको आफ्नै महिमा छ। यति बेला शिव भक्तालु विभिन्न शिव मन्दिरमा गएर शिवको गुणगान गाउने, भजनकीर्तन गर्ने गर्छन्। व्रत बस्न नयाँ पहिरन चाहिन्छ भन्ने नै छैन। पहिरन साटासाटी गर्नुपर्छ भन्ने पनि छैन। पुरानो सफा वस्त्र धारण गरेर पनि व्रत बस्न सकिन्छ। भगवान्को आराधना गर्न सकिन्छ। हो, भगवान्प्रतिको आस्था फरकफरक होला तर ईश्वरको नाममा विकृति भने कसैले भित्र्याउन पाउँदैन।
साउनमा हातभरि मेहन्दी लगाउने प्रचलन पनि बढ्दो छ। मेहन्दी आफैंमा औषधीय गुण भएको बहुगुणी वनस्पति हो। यसको प्रयोगले शरीरमा शीतलता पैदा गर्छ। साउन महिना गर्मी हुने भएकाले मेहन्दी लगाउँदा राम्रो हुन्छ भन्ने भनाइ पनि छ। तर, मेहन्दी किन लगाइन्छ भनी कतिपय युवतीलाई सोध्दा ‘राम्री हुन, चिटिक्क पर्न’ भन्ने गर्छन्। यसको अर्थ दोस्रो पुस्ता नजानिँदो किसिमले अरूको संस्कृतितिर उन्मुख हुँदैछ भन्ने बुझिन्छ।
एउटा यस्तै उदाहरण। डिल्लीबजार पीपलबोटमुनि मेहन्दी लगाउने युवतीको बाक्लो भीड थियो। पालो कुरेर बसेकी अनामनगरनिवासी २० वर्षीया रीता थापा हातभरि मेहन्दी लगाउन निकै आतुर थिइन्। मेहन्दी लगाउनुको कारण सोध्दा उनले सजिलै जवाफ दिइन्, ‘राम्री हुन, चिटिक्क देखिन।’ आर्थिक स्तर बलिया भएका महिलाले राम्रो सामान खरिद गर्लान्, आफूखुसी एकअर्कालाई उपहार देलान्। यो उनीहरूको व्यक्ति गत विषय हो। तर, आर्थिक पक्ष बलियो छ भन्दैमा मनपरी तडकभडक देखाउँदा दोस्रो पक्षलाई कस्तो असर पर्ला? यसतर्फ भने आममहिलाले सोच्नुपर्ने बेला आएको छ।
साउन महिनामा हरियो, पहेँलो, रातो रङको पहिरनदेखि शृंगार सामग्रीको माग अरू बेलाभन्दा बढ्छ। यति बेला व्यवसायीले मनग्गे आर्थिक उपार्जन गर्ने मौका पाउँछन्। अनामनगरस्थित ‘स्नो ह्वाइट ब्युटी पार्लर’ की सञ्चालिका सक्षमता दाहालले साउन महिनामा हरियो, रातो र पहेँलो चुराको खपत हुने गरेको बताइन्। चुरा व्यापारबाट उनी सन्तुष्ट छिन्। तर, नेपाली बजारमा खपत हुने चुरा भारतबाट आयातीत हुन्छन्। समाजमा एकातिर पश्चिमी शैलीको प्रभाव भित्रिँदैछ भने अर्कोतिर राष्ट्रको करोडौंको ढुकुटी पनि विदेश पलायन भइरहेको छ।
पछिल्लो समयमा साउने व्रतका नाममा हजारौं मूल्य पर्ने पहिरन किनेर एकअर्कालाई उपहार दिने चलन पनि देखिएको छ। उपहार दिन कुनै विशेष दिन वा महिना कुर्नु पर्दैनजस्तो लाग्छ। न्युरोडको रूपश्री पसलमा बानेश्वरबाट हरियो रङको साडी किन्न आएकी रूपा थापाले हरियो रङ मिश्रित ६ वटा साडी आठ हजार रुपैयाँ तिरेर खरिद गरिन्। उनले यी साडी दिदीबहिनी, नन्द, आमाजू, छोरी, बुहारीका लागि साउने सोमबार व्रतका अवसरमा उपहार दिने बताइन्।
महिला अधिकारकर्मी शर्मिला कार्की चाडबाडका नाममा फैलिँदै गएको विकृतिप्रति चिन्तित छिन्। उनका अनुसार खुला अर्थतन्त्र र बजारीकरण अनि फेसनको प्रभावले नेपाली बजार तताएको छ। फेसनको सिको गर्नेमा महिला नै अग्रपंक्तिमा देखिएका छन्। यसो हुनु राम्रो होइन। यसको प्रभाव आर्थिक अवस्था कमजोर भएका महिलामा परेको छ। समाजमा महिला हिंसा उजागर गर्न यस्ता तडकभडक सहायक हुन सक्छन्। त्यसैले आममहिला दिदीबहिनी समयमै सचेत हुनु आवश्यक छ।
धर्मप्रति आस्था राख्नेको संख्या बढे पनि देखासिकी गर्नेको संख्यासमेत कम छैन। संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार साउने संस्कृतिको महत्त्व नबुझी अरूले के लगायो भनेर लहडमा लाग्नेहरूको संख्या बढ्दो छ। ‘यो राम्रो होइन। संस्कृतिका नाममा कसैले पनि विकृति विसंगति भित्र्याउन मिल्दैन। संस्कृति भनेको राष्ट्रको गहना हो। हामीले संस्कृतिलाई सदैव बचाइराख्नुपर्छ। अनि पो हामी संस्कृतिका धनी हुन्छौं’, जोशी भन्छन्।

Published sranwan 17, Annapurna Post, Sangee